नजिर मियाँ

नजिर मियाँ

माननीय प्रदेश प्रमुख

प्रारम्भिक जीवन

माननीय प्रदेश प्रमुख नजिर मियाँज्यूको संक्षिप्त जीवनी

पारिवारिक पृष्ठभुमि-

वुवा हाजी मरहुम ज्यान मोहम्मद मियाँ र आमा मर्हुम हज्जीन मुसीरन मियाँनीका जेठो सन्तानको रुपमा माननीय प्रदेश प्रमुखज्यूको जन्म मिति 2008 साल माघ १५ गते अर्घाखाँची जिल्लाको साविक पाली-२, अर्भका (हाल- पाणिनी गा.पा. वडा नं. ८) मा भएको थियो। 2029 सालमा अर्घाखाँचीकै हज्जीन उजेली मियाँसँग वैवाहिक सम्बन्धमा गाँसिनुभएका उहाँका ८ दाजुभाई र ३ जना बहिनी हुनुहुन्छ।उहाँका ६ छोरा र ३ छोरी गरी ९ जना सन्तान हुनुहुन्छ।उहाँले धार्मिक शिक्षा उर्दू अरबीमा लिनुभएको छ।

अति नरम स्वाभाव, मृदुभाषी, सादगी जिवन मन पराउने नजिर मियाँ बामपन्थी राजनीतिको एक विशिष्ट नाम हो। उहाँ मुस्लिम समुदायको विकास र समृद्धिका लागि लागिपरेका एक महान नेता, मुस्लिम जागरण अभियानको एक हस्तीको रुपमा समेत परिचित हुनुहुन्छ । राजनीतिमा लाग्नु अगाडि उहाँ व्यापार व्यवसायमा आवद्ध हुनुभएको भए पनि २०४८ सालपछि सामाजिक क्षेत्र र राजनीतिमै पुर्ण समय दिईरहनु भएको छ।उहाँ नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा सम्माननीय राष्ट्रपतिज्यूबाट मिति 2080 फागुन ३० गते सुदूरपश्चिम प्रदेशको प्रदेश प्रमुखको पदमा नियुक्त हुनुभएको थियो ।

राजनैतिक जीवन-

युवा अवस्था देखि नै राजनीतिमा लाग्नुभएका उहाँ 2032 सालतिर पन्चायती व्यवस्थाको गाउँ फर्क अभियानको समयमा अर्घाखाँची जिल्लाको पालीमा वडा सदस्य हुनुभएको थियो।राजनीतिलाई अगाडि बढाउने क्रममा २०३८ सालको उपप्रधानपन्चको चुनाव र २०४३ सालको प्रधानपन्चको चुनावमा उम्मेदवार बनी झिनो मतान्तरले पराजित हुनुभएका उहाँ २०४६ सालमा वहुदलीय व्यवस्था आएपछि नेकपा (माले) हुँदै नेकपा (एमाले) पार्टीमा रही काम गर्न थाल्नुभएको हो। सोही क्रममा २०४९ सालमा र २०५४ सालमा एमाले पार्टीबाट अर्घाखाँची जिल्लाको तत्कालीन पाली गा.वि.स. को अध्यक्षको रुपमा दुइ कार्यकाल काम गर्नुभएको थियो।उक्त अवधिमा आफ्नो गा.वि.स. को समग्र विकास निर्माण लगायत स्वास्थ्य, शिक्षा क्षेत्रको प्रगति तथा समाज र संस्कृतिको विकासका लागि ठुलो योगदान गर्नुभएको थियो। २०४९ सालमा प्रथम पटक गा.वि.स. अध्यक्ष हुँदा आफ्नो गा.वि.स. भरी डोजरको माध्यमबाट सडक संजाल विस्तार गर्ने कार्यमा सरिक हुनुभयो।विद्यालय र स्वास्थ्य चौकी भवन निर्माणका साथसाथै खानेपानीको व्यवस्था गराउनुभयो।

राजनीति मै आवद्ध रहने क्रममा उहाँ २०६५ सालमा पहिलो संविधान सभामा सदस्यमा मनोनित हुनुभएको थियो।नेपालको वर्तमान संविधान निर्माणको जग बसाल्ने कार्य प्रथम संविधानसभाबाट भएको सन्दर्भमा संविधान सभा सदस्य भएको नाताले उहाँ समेत उक्त कार्यमा प्रत्यक्ष र परोक्ष ढंगले सहभागी हुनुभएको थियो। सो क्रममा संविधानसभा तर्फ नागरिक तथा मानव अधिकार समिति र व्यवस्थापिका तर्फबाट अन्तराष्ट्रिय सम्बन्ध समितिमा रही काम गर्नुभएको थियो।साथै संविधानसभामा प्रतिनिधित्व गर्ने १७ जना मुस्लिम सभासदको समन्वय समितिको अध्यक्षको भुमिका समेत निर्वाह गर्नुभएको थियो। त्यसैगरी संविधान सभा सदस्य रहेको अवधिमा आफ्नो क्षेत्रमा टेलिफोन लाइन विस्तार, बिजुलीको हाइटेन्सन लाईन विस्तार गर्नमा महत्वपुर्ण योगदान रह्यो।सोही अवधिमा विभिन्न विद्यालयहरुको स्तरोन्नती, पुरातत्व विभागमा पहल गरी पाली क्षेत्रको सबैभन्दा पुरानो मस्जिदको पुननिर्माणको कार्य सम्पन्न गराउनुभयो ।

उहाँले एमाले पार्टिको टोल कमिटी देखि केन्द्रिय कमिटीसम्म विभिन्न जिम्मेवारीमा रही काम गर्नुभएको छ।जनवर्गीय संगठन अखिल नेपाल किसान संघको गाउँ अध्यक्ष पनि रहिसक्नु भएका उहाँ २०६६ देखि २०७८ सम्म अर्घाखाँची जिल्लाको एमाले पार्टी इन्चार्जको जिम्मेवारी कुशलतापुर्व सम्पन्न गर्नुभएको थियो ।

अन्य संघसंस्थासँगको आवद्धता-

संघसंस्था संगको आवद्धताको हकमा उहाँले नेपाल मुस्लिम एकता संगठनको संस्थापक अभियानकर्ता देखि नेपाल मुस्लिम इत्तेहाद संगठनको संरक्षक हुदै सल्लाहकार समितिको सभापतिको जिम्मेवारी सम्हाल्नु भएको छ।उहाँ २०४८ सालदेखि राष्ट्रिय स्तरमा नेपाल मुस्लिम इत्तेहाद संगठन निर्माणका लागि देशदौडाहामा सहभागी हुँदै नेपाल मुस्लिम इत्तेहाद संगठनको केन्द्रिय अध्यक्षको जिम्मेवारीमा रही काम गरिसक्नुभएको छ।गा.वि.स. राष्ट्रिय महासंघको संस्थापक सदस्य समेत भई २०५१ देखि 2075 सम्म केन्द्रीय स्तरको जिम्मेवारीमा रहेर जिल्ला बाहिर रही काम गर्नुभएको छ। उहाँले सार्क मानव अधिकार फाउन्डेसनको सदस्य, अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आजीवन सदस्य र कार्यसमिति सदस्य तथा सल्लाहकारको रुपमा काम गर्नुभएको छ।उहाँ हालसम्म ३ पटक हज समितिको सदस्य, राष्ट्रिय मानव अधिकार मन्च नेपालको अध्यक्ष, एसियन मुस्लिम कमिटीको सदस्य, सार्क मानवअधिकार फाउन्डेसनको सदस्य रहि सक्नुभएको छ।यसका साथै इन्सेकको आजीवन सदस्य रही २ कार्यकाल कार्यसमिति सदस्यको रुपमा काम गरी हाल सल्लाहकारको रुपमा रहनुभएको छ।

वैदेशिक भ्रमण र प्रकाशित कृति-

सरकारी, संस्थागत आवद्धता र पार्टीको कामको सिलसिलामा केही हिमाली र पहाडि जिल्ला बाहेक प्राय: सबै जिल्लाहरुमा पुग्नुभएको छ।विदेशको हकमा बंगलादेश, भारत, पाकिस्तान, टर्की, साउदी अरेवियाको भ्रमण गर्नुभएको छ।उहाँद्वारा लिखितसंघर्षशील आवाजहरु नामक एक आत्मवृतान्त कृति पनि प्रकाशित भएको छ।